दफा ५४१
अदालतले आदेश दिन सक्ने

(१) करारको कुनै पक्षले त्यस्तो करारको प्रकृति अनुसार गर्न नहुने कुनै काम कारबाही वा व्यवहार गर्न लागेको कारणबाट करारको परिपालना सम्भव नहुने भएमा त्यस्तो काम कारबाही वा व्यवहारबाट मर्का पर्ने पक्षले त्यस्तो काम कारबाही वा व्यवहार रोकी पाउन अदालतमा उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी परेमा त्यस्तो करारबाट उत्पन्न विवादको समाधान त्यस्तो करार वा कानून बमोजिम हुने गरी कुनै पक्षलाई निजको कुनै खास काम कारबाही वा व्यवहार तत्काल रोक्ने गरी अदालतले उपयुक्त आदेश जारी गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम आदेश जारी भएकोमा त्यस्तो पक्षले त्यसरी दिइएको आदेशको पालना नगरेको कारणबाट हुन गएको थप हानि, नोक्सानी समेत मर्का पर्ने पक्षले भराई लिन पाउनेछ ।